प्रधानमन्त्रीबाहेक सबै सांसदले विश्वासको प्रस्तावको विपक्षमा भोट हाल्नुस् : दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको विश्वासको मतको विपक्षमा भोट हाल्न सांसदहरूलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै दाहालले भने, ‘प्रधानमन्त्रीले सबैलाई आफ्नो पक्षमा भोट हाल्न भन्नुभयो तर म भन्छु प्रधानमन्त्रीबाहेक सबै सांसदले विश्वासको प्रस्तावको विपक्षमा भोट हाल्नुस् ।’

दाहालले प्रतिनिधिसभा अर्को सरकार गठन गर्न सक्षम रहेको भन्दै अन्यथा नसोच्न पनि आग्रह गरेका छन् । उनले संविधानको हुर्मत लिने काम कसैले गर्न नहुने धारणा राखेका थिए ।

प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुँदैन भन्ने विश्वास भएकाले नै आइतबार संवैधानिक परिषद्को बैठक बसेर विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको दाहालको भनाइ थियो । प्रधानमन्त्री ओलीमा सकेसम्म पहिल्लै संवैधानिक निकायमा कब्जा गरौं भन्ने लागेर नै विश्वासको मत लिनु पहिला नै नियुक्ति सिफारिस रहेको दाहालले बताए ।

प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधिसभा बैठकमा छलफल भइरहेको छ । बैठकमा नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद अनुपस्थित रहेका छन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । त्यस्तै, माओवादीले पनि त्यस्तै निर्णय गरेको छ । जसपाले भने तटस्थ बस्ने निर्णय गरेको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..