अनेक प्रश्न सोधेर हैरान नगर्नोस् ! ‘तिमी घरका पत्नी हामी बजारका पत्नी’ फरक यति हाे….

कोलकाताको रेडलाइट एरियामा दुर्बार महिला समन्वय समिति भन्ने संस्था कार्यरत छ, जसले यौनकर्मीको हक र हितमा काम गर्छ । यसका पदाधिकारी र सदस्यहरू प्रायः सबै यौनकर्मी नै छन् । कोलकाताका सबैभन्दा पुराना र ठूला रेडलाइट एरियामध्येकै रहेछ सोनागाछी । जुन त्यस भेगका चारवटा क्षेत्रमा फैलिएको थियो— राम बगान, सेठ बगान, जोर बगान र रवीन्द्र सरणी ।

साँगुरा गल्लीमा रहेका पुराना तीन–चारतले घरका तीन सय ७० वटा कोठीमा करिब चार हजार यौनकर्मी काम गर्दा रहेछन् । कोठीमा नबसेर बाहिरबाहिरै सेवा दिने यौनकर्मी पनि प्रशस्तै रहेछन् । यो रेडलाइट एरियामा बसेर हाम्री क्षेत्रीय निर्देशक मधुबाला नाथले पनि केही समय यौनकर्मीको जीवनमा यस संस्थाले गरेका कामको अध्ययन गरेकी रहिछन् । वरपरका करिब २० हजार पुरुष यहाँका नियमित ग्राहक रहेछन् ।

१० रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म सालाखाला प्रतिरातको लिन्छन् रे यहाँ विभिन्न तहका यौनकर्मीले । ए तहका यौनकर्मीको एकदेखि पाँच हजार, बी तहकाको पाँच सयदेखि तीन हजार र सी तहकाको तीन सयदेखि एक हजारसम्म प्रतिहप्ता कमाइ हुनेरहेछ । कसैले आफैँ कोठाको बहाल तिरेर स्वतन्त्र रूपमा धन्दा चलाएका भए पनि धेरैजसोले दलालमार्फत वा म्याडममार्फत काम गर्दा रहेछन् ।

म्याडम भनेकाचाहिँ कोठीका मालिक्नी हुन्थे, प्रायः उमेर गएका पूर्वयौनकर्मीहरू नै हुन्थे ती । दलालबाट युवतीहरू किनेर म्याडमहरूले तिनलाई यौनकार्यमा खटाउँथे र तिनले ग्राहकबाट पाएको पैसाको ठूलो हिस्सा आफू राख्थे । यौनकर्मीले दलाललाई कमाइको २५ प्रतिशत र म्याडमलाई कमाइको ५० प्रतिशत दिनुपर्ने रहेछ ।

नेपालको परिवार नियोजन संघमार्फत, बेचिएका चेलीको पुनस्र्थापना सम्बन्धमा नेपालमा एउटा परियोजना सञ्चालन भइरहेथ्यो । त्यस परियोजनामा कार्यरत कर्मचारी र अन्य मान्छेको यौनकर्मीप्रतिको सोचाइमा सुधार ल्याउन हामीले सोझै सोनागाछीबाट केही यौनकर्मी र दुर्बार समितिका पदाधिकारीलाई नेपाल लगेर तिनका अनुभव सुनाउने उद्देश्य राखेका थियौँ ।

यही कार्यक्रम मिलाउन म र अञ्जली कपिला ६ जुलाई, २००५ मा दिल्लीबाट कोलकाता गएका थियौँ । तीन दिन त्यहीँ बस्ने योजना थियो । नेपालमा उक्त परियोजना हेरिरहेकी बिना महतलाई पनि हामीले कोलकातामै बोलायौँ । पुरानो सहर रहेछ कोलकाता, प्रख्यात हावडा स्टेसन यहीँ थियो । धुलोमैलो, फोहोर, मान्छेको भिड, मान्छेभन्दा धेरै रिक्सा । झुप्रा टहराहरू ।

गरिबी सडकमा छताछुल्ल पोखिएजस्तो देखिन्थ्यो । मान्छेले तान्ने रिक्सा मैले जिन्दगीमा पहिलोपल्ट यहीँ देखेँ र बडो दिक्क मानेँ । बडो क्रूर दृश्य थियो यो । रिक्सा तान्नेहरू सबै कृशकाय नै देखिन्थे, जबकि चढ्नेहरूचाहिँ मोटाघाटा भुँडी हालेकाहरू नै धेरै देखिए । २५ वर्षदेखि निरन्तर कम्युनिस्टको शासन चलिरहेको कोलकाताको यो अनुहार बडो अनौठो थियो मेरा निम्ति । ज्योति वसु मुख्यमन्त्री थिए ।

कोलकाता जाने भन्नेबित्तिकै दक्षिणेश्वरको मन्दिर मेरा मनमा थियो पहिल्यैदेखि । रामकृष्ण परमहंसले पूजा गर्ने कालीको मन्दिरमा पूजा गर्‍यौँ सबैले । रामकृष्ण परमहंस सुत्ने कोठा पनि सबैलाई हेर्न खुला राखेको रहेछ । साँझको समय उत्ताल छाल उठिरहेको विशाल गंगानदीमा स्टिमर चढेर पारिका मन्दिर र आश्रमहरूमा गयौँ । रामकृष्ण परमहंस, उनकी पत्नी माँ शारदा, योगी विवेकानन्दलगायतका बेग्लाबेग्लै मन्दिर थिए ।

संगमर्मरका शान्त सफा ती मन्दिरमा खाली खुट्टा प्रवेश गर्दा अनुभव गरेको शीतलता र शान्ति अवर्णनीय छ । रवीन्द्रनाथ टैगोरको घर पनि हेर्न गयौँ हामी । ठूलो कम्पाउन्डभित्रको त्यो रातो पुरानो विशाल दरबार मन्दिरजस्तो अनुभव भयो— शान्त, आध्यात्मिक अनुभूति दिने । यतिखेर त्यसलाई संग्रहालयमा परिणत गरेको रहेछ । दिनहुँ थुप्रै भिजिटरहरू हेर्न आउँदा रहेछन् ।

छालाका सामान सस्ता पाइने रहेछन् कोलकाता बजारमा । हामी सबैले थुप्रै ब्याग, जुत्ताहरू किन्यौँ । बाबा भर्खर छुटेको थियो जेलबाट र म घर जान पाएकी पनि थिइनँ । बिना महतसँग उसलाई केही सामान पठाइदिएँ, अप्ठ्यारो पर्‍यो होला भनेर केही पैसा पनि पठाइदिएँ । पहिलोपल्ट यसरी सोनागाछीका गल्लीमा घुमेर फर्कंदाको मेरो मनस्थिति भने बयान गर्न असमर्थ छु ।

बाटैमा सोचिरहेथेँ— रेडलाइट एरियाको गल्लीमा घुमिरहेका ती पुरुष र सडकमा हिँडिरहेका यी पुरुषमा के भिन्नता छ ? भद्दा शृंगार र अल्प पोसाकमा अनेक हाउभाउ गर्दै ग्राहकलाई आफूतर्फ तान्ने प्रयत्नमा लागेका ती मायालाग्दा स्वास्नीमान्छे र म आफैँमा के भिन्नता छ ? त्यहीँकी एउटी नेपाली दिदीले भनेका कुरा निकै पछिसम्म कानमा गुञ्जिरहे— हामी यहाँ बजारमा नबस्ता हौँ त तिमीहरू भलाद्मी र असल बनेर कहाँ निर्धक्क हिँड्न पाउँथ्यौ ?

सडकमै दिउँसै बलात्कार गर्थे यी पुरुषले तिमीहरूलाई । घरका पत्नी तिमी र बजारका पत्नी हामी…, तिमीहरू पट्टी बाँधिएका कुकुर, हामी पट्टी नबाँधिएका कुकुर… तिमी र हामीमा यति नै त हो फरक…म छक्क परेर तिनलाई हेरिरहेँ, लाग्यो… हो त नि… एक हिसाबले ठीकै त भनिरहिछन् उनी…

ती दिदीको परिवारै बस्थ्यो त्यहाँ एउटा कोठामा । दुईतिर खाट, एउटा कुनामा स्टोभ र भाँडाकुँडा, केही मैला प्लास्टिकका ग्यालेन, एउटा बाल्टी र सिल्बरका दुइटा गाग्री… । एकापट्टि खाटमा च्यातिएको धोतीको पर्दा लगाउने बनाएको थियो भित्तामा किला ठोकेर । दिदीका ग्राहक आएपछि त्यही ओछ्यानमा पर्दा लगाएर ग्राहकलाई सन्तुष्ट पार्ने रहिछन् उनले । कहिलेकाहीँ केटाकेटीहरू बाहिर निस्किदिँदा रहेछन् ।

अनेक कारणले यहाँ आइपुगेका थुप्रै भर्खरका नेपाली केटीहरू गल्लीछेउ ग्राहक कुरेर आ–आफ्ना ढोकामा बसेका थिए । ती हामीलाई नचिनेझैँ गर्न खोज्थे, कुरा गर्न मन गर्दैनथे । अरूभन्दा नेपाली केटीहरू राम्रा र स्वस्थ देखिन्थे । कुनै एउटा रिपोर्टमा पढेकी पनि थिएँ— नेपाली यौनकर्मी केटीहरू अरूभन्दा बढी इमानदार छन् ।

मेरो जिज्ञासामा एउटी नेपाली केटीले भनिन्— ‘हाम्रो कुनै नाम छैन । न कुनै देश नै छ, न घर नै छ हाम्रो । अनेक प्रश्न सोधेर हामीलाई हैरान नगर्नोस् । हामी आफ्नो नियति भोगिरहेछौँ यहाँ । तपाईं यसलाई परिवर्तन गर्न सक्नुहुन्न ।’ प्रायः सबैजसो तिनीहरूलाई राम्रो पैसा आउने काममा लगाइदिन्छु भनेर दलालले झुक्याएर ल्याएको बुझिन्थ्यो ।

हुन त त्यहाँ हामीले कुरा गरेका धेरै महिलाले आफूले स्वेच्छाले नै यो पेसा गरेको भनेका थिए । आफ्नो काममा खुसी छौँ पनि भनेका थिए । आफ्नो पेसालाई आफूले इज्जत गरेन भने अरूले आफूलाई इज्जत दिँदैनन् भन्ने संस्थाको औपचारिक भनाइ उनीहरू सबैले दोहोराउँथे । तर, मलाई त्यसमा विश्वास गर्ने आधार भेट्न कठिन भएको थियो ।

तीमध्ये कसैले पनि आफ्ना बालबच्चा त्यही पेसामा लागुन् भन्ने इच्छा भने प्रकट गरेनन् । सोनागाछीको त्यस दुर्बार समितिका पदाधिकारी र सदस्यमै पनि कुनै नेपाली वा बंगलादेशी वा दक्षिण एसियाको अर्को देशबाट गएका यौनकर्मीको नाम देखिनँ मैले । भारतीय नै थिए सबै । लाग्यो— शक्तिकै खेल त होला यहाँ पनि ।

बाध्य भएर त्यहाँ शरीर बेचिरहेका दुःखी दिदीबहिनीहरूका निम्ति गहिरो गरी दुखेको थियो मेरो मन । झुक्याएर दलालले त्यहाँ पुर्‍याएका नेपाली बहिनीहरूका निम्ति धर्धरी रोएको थियो । मनमा तरंगहरू छचल्किरहेथे समुद्री छालझैँ । सोचिरहेथेँ—
हे भगवन्, जीवन कसैकसैका लागि किन यति धेरै निष्ठुर हुन्छ ? नयाँ पत्रिकाबाट…

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..