डाक्टर गोविन्द केसीले फेरि गरे यस्तो माग

काठमाडौ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का प्राध्यापक डाक्टर गोविन्द केसीले नयाँ चिकित्सा शिक्षा ऐन पुरानो अध्यादेश अनरुप नै आगामी संसदको बैठकबाट पारित हुनु पर्ने माग अघि सारेका छन् ।

केसीले बिभिन्न चार बुँदे माग सार्वजनिक गर्न बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा पत्रकार सम्मेलन गर्दै पहिलेको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश अनरुप नै नयाँ चिकित्सा शिक्षा ऐन संसदबाट जारी नभए आफूले फेरि पनि सत्याग्रहको बाटो रोज्न बाध्य हुने चेतावनी समेत दिए।

चिकित्सा शिक्षा क्षेत्रको गुणस्तर कायम गर्नका लागि संसदमा पुगिसकेको पहिलेको ऐनलाई राजनीतिक दल नेताको स्वार्थका कारण अध्यादेशका रुपमा ल्याउनु पर्ने अवस्था आएको र त्यो पनि नयाँ संसदबाट पारित हुन नसक्नु विडम्बना रहेको उनले बताउनुभयो । उनले अब बन्ने ऐन पहिलेकै अध्यादेशअनुरुप सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँचमा पुराउने गरी र सबै विद्यार्थीले निःशुल्क वा उचित शुल्कमा अध्ययन गर्न पाउनु पर्ने अधिकार सुनिश्चित हुने गरी आउनुपर्नेमा जोड दिए।

डा. केसीले माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने ओली सरकारको निर्णय तत्काल फिर्ता गर्नु पर्ने, चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहराएका त्रिविका पदाधिकारीहरुलाई कारवाही गर्नु पर्ने लगाएतका माग पनि अघि सारेका छन् ।

त्यस्तै डाक्टर केसीले चिकित्साशास्त्रको स्नातकोत्तर तहमा तोकिएको भन्दा बढी शुल्क असुल्ने निजी मेडिकल कलेजहरुलाई कारवाही गर्नु पर्ने माग राखेका छन् भने हाल प्रधानन्यायाधीश नियुक्तिमा भइरहेको राजनीतिक चलखेल तत्काल अन्त्य गर्नु पर्ने माग गरेका छन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..