यातायात महासंघका महासचिव सिटौला पक्राउ

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद (सरोज) सिटौला पक्राउ परेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भाग लिन जाने क्रममा सिटौलालाई भृकुटीमण्डपबाट पक्राउ गरिएको हो ।

गृहमन्त्रीको आदेशपछि सादा पोशाकमा खटिएको प्रहरी टोलीले महासचिव सिटौलालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।

मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

सुरुङ्गा।सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरी रहेका छन् ।

उनीहरुलाई गृह मन्त्रालयको निर्देशनमा पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । पक्राउ परेका सातैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।
यता बिहानैदेखि सार्वजनिक यातायात नचल्दा झापासहित पूर्वको जनजीवन प्रभावित छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..