यसरी भयो सरकार–यातायात व्यवसायीबीच ‘सिन्डिकेट’ अन्त्य गर्ने सहमति

काठमाडौ । आइतबार राति सरकार र यातायात व्यवसायीबीच विधिवत रुपमै सिन्डिकेटको अन्त्य गर्ने सहमति भएको छ ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवसायीहरुसहित पत्रकार सम्मेलन गरी आईतबार राति विधिवत रुपमै सिन्डिकेटको अन्त्य गर्ने सहमति गरिएको औपचारिक जानकारी गराएको हो ।

सो सहमतिसँगै यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिले आफ्नो पूर्वघोषित आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । सहमतिमा यातायात व्यवसायीहरुले सरकारबाट सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गरेको पनि उल्लेख गरिएको छ ।

यातायात क्षेत्रलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन सरोकारवालाको समेत प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने सहमति पनि भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिनुभयो । कार्यदलले दिएको सुझावको आधारमा सार्वजनिक सवारी साधनको उचित व्यवस्थापन गर्ने सरकारको योजना छ ।

सहमति अनुसार एउटा मात्र सार्वजनिक सवारी साधन भएको सवारीधनीले पनि सवारी संचालन गर्न पाउनेछन । सरकारले सिन्डिकेट खारेज गर्ने विधिवत निर्णय गरेपछि त्यसको विरोध गर्दै यातायात व्यवसायीहरुले अनिश्चितकालीन आम हडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..