सिन्डिकेट त हट्यो अब दुर्घटनामा परे उपचार खर्च नदिने व्यवसायीको घोषणा

काठमाडौ । सिन्डिकेट अन्त्य गर्ने सरकारसँग सहमति गरेका यातायात व्यवसायीहरुले गाडी दुर्घटनामा परे उपचार खर्च नव्यहोर्ने बताएका छन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले यातायात समितिहरुको बैैंक खाता रोक्का भएकाले गाडी दुर्घटना भए यात्रुहरुको उपचार गर्न नसकिने प्रष्टयाउनु भएको हो ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफूहरुको काउन्टर बसपार्कबाट हटाउने काम गरिएको भन्दै सडकबाट सेवा सुचारु गर्ने चेतावनी पनि दिनु भयो ।

अध्यक्ष कर्माचार्यले विकल्पविना नै सरकारले लिएको निर्णयबाट सर्वसाधारणले सास्ती व्यहोर्नुपर्ने अवस्था आएको दावी पनि गर्नु भयो । उहाँले आफूहरुको २ लाख गाडी र त्यसमा आवद्ध मजदुरहरुको व्यवस्थापन तत्काल गर्न पनि सरकारसँग माग गर्नु भयो ।

महासंघले बसपार्कबाट समितिहरुको टिकट काउन्टर हटाउने निर्णयबाट पर्न गएको असुविधाको जिम्मेवारी सरकार आफैले लिनुपर्ने पनि स्पष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले यातायात क्षेत्रको सुधारका लागि आवश्यक कदम तत्काल चाल्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..