सरकारले भन्यो–जेसुकै होस सत्ता छाडिन्नँ

काठमाडौ । सरकारले सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजी भईरहेको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरी सरकार बैधानिक बाटोबाटै सत्ता हस्तान्तरण गर्न लागि परेको प्रष्टयाउनु भएको हो ।

उहाँले प्रतिनिधिसभालाई पूर्णता दिएर छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न सरकारले राष्ट्रपति समक्ष राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश पेश गरिएको पनि स्पष्ट पार्नु भयो । प्रवक्ता बस्नेतले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण नगरेका कारण नयाँ सरकार बनाउने बाटो अवस्द्ध हुन पुगेको तर्क पनि गर्नु भयो ।

उहाँले प्रतिनिधि सभालाई पूर्णता दिई सरकार गठन प्रक्रिया अघि बढाउन पनि राष्ट्रपतिले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश प्रमाणीकरण गर्न ढिलाई गर्न नहुने पटक–पटक दोहो-याउनु भयो ।

सरकारका प्रवक्ता बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएसम्म वर्तमान सरकारले राजनीतिक नियुक्ती, सरुवा र बढुवा गरिरहने पनि स्पष्ट पार्नु भयो । उहाँले नयाँ सरकार नबनेसम्म वर्तमान सरकार नियुक्ती, सरुवा र बढुवा लगायतको काम गर्न दृढ रहेको पनि बताउनु भयो ।

एमाले, माओवादी केन्द्रलगायतका दलहरुले सरकार काम चलाउ भएकाले नियुक्ती, सरुवा, बढुवालगायतका काम गर्न नमिल्ने तर्क गर्दै आएका छन । तर सरकारका प्रवक्ता बस्नेतले भने नयाँ सरकार नबन्दासम्म सरकारले आफ्नो कामलाई सहज ढंगले अघि बढाउने बताउनु भयो ।

प्रवक्ता बस्नेतले सरकारले राजीनामा नदिएको अवस्थामा नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न हुँदैन भन्न नमिल्ने तर्क पनि गर्नु भयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..